Saturday, February 27, 2016

राम्रो टुथब्रस, टुथपेस्ट कसरी छान्ने ?


बजारमा थुप्रै ब्राण्डका र विभिन्न मोडलका टुथब्रस र टुथपेस्टहरू किन्न पाइन्छन् । सबै कम्पनीहरूले आफ्ना उत्पादनहरू राम्रो भएको र यति प्रतिशत डेन्टिष्टले शिफारिस गरेको, यति प्रतिशत डेन्टिष्टले आफैँ प्रयोग गर्ने गरेको आदि इत्यादि भनेर विज्ञापन गर्ने भएकाले उपभोक्ताहरू खास कस्तो टुथब्रस, टुथपेस्ट लाई राम्रो मान्ने भनेर ठम्याउन नसकेर जुनले माझेपनि दाँतै माझ्नु त हो नि भनेर टुथब्रस वा टुथपेस्ट चयनमा खासै ध्यान दिँदैनन् ।

अब अर्कोपटक टुथब्रस किन्ने बेलामा यी कुराहरूमा ध्यान दिनुहोस् जुन एउटा राम्रो टुथब्रसका विशेषताहरू हुन्।

१) ब्रसको टाउको अर्थात् मुखभित्र हालिने भाग प्रयोगकर्ताको उमेर र मुखको आकार अनुकुल हुनुपर्दछ । ज्यादै ठूलो ब्रसले बोल्न र सास फेर्नसमेत अप्ठ्यारो हुन्छ र पछाडितिरको बङ्गारा मजाले सफा पनि गर्न सकिँदैन । त्यसैगरी ज्यादै सानो ब्रसले माझ्दा निकै धेरैबेर लाग्ने भएकाले हतारिएर मजासँग दाँत नमाझीन सक्छ ।

२) ब्रसका ब्रिस्टलहरू (रौँ हरू) प्राकृतिक भन्दा सिन्थेटिक नाइलन फाइवरले बनेको भए राम्रो हुन्छ किनकि प्राकृतिक फाइवरले पानी सोस्ने भएकाले त्यसमा ब्याक्टेरिया बढ्न सक्छन् ।

३) पहिलेपहिले कडा ब्रिस्टलका ब्रसले दाँत बढी सफा र चम्किलो पार्छ भन्ने भ्रम थियो । तर धेरै कडा ब्रिस्टलले गिजामा घाउ बनाउने हुँदा नरम ब्रिस्टल भएका ब्रस छान्नुपर्छ ।

४) ब्रसको हेन्डल पर्याप्त लामो र मोटो हुनुपर्छ, ताकि समातेर ब्रस गर्दा हात नगलोस् ।

५) आजकल केही ब्रसहरूको टाउको छोप्ने ढकनी पनि हुन्छ । तर त्यसरी छोपेर राख्दा ब्रस नसुकेर चिसै हुन्छ जसले गर्दा त्यहाँ सजिलैसँग ब्याक्टेरिया हुर्कन सक्छन्। त्यसो हुन नदिन ब्रस सुकेपछि मात्र ढकनीले छोप्ने गर्नुपर्छ ।

६)कम्तीमा प्रत्येक तीन महिनामा वा चित्रमा देखाएजस्तो पुरानो भएपछि ब्रस फेर्नुपर्छ।

७) अनि टुथपेस्ट चाहिँ फ्लोराइड भएको मात्र प्रयोग गर्नुपर्छ किनकि फ्लोराइड नभएका टुथपेस्टमा दाँतमा किरा लाग्नबाट बचाउने गुण हुँदैन । त्यसैले टुथपेस्ट किन्दा फ्लोराइड भए नभएको , उत्पादित मिति र म्याद गुज्रने मिति हेरेर मात्र किन्नु पर्छ ।